समाज

कञ्चनपुरका थारु बस्तीमा सखिया नृत्यको रौनक
SHARES

असोज ११, २०७६

     कञ्चनपुर  ः मादलको तालसँगै कम्मर मर्काउँदै थारु युवतीले सामुहिक रुपमा प्रस्तुत गर्ने सखिया नृत्यले कञ्चनपुरका थारु बस्तीमा अहिले रौनकता थपेको छ।

    थारु बाहुल्यता रहेका यहाँका पिपलाडी, जोनापुर, देखतभूली, लक्ष्मीपुर, कृष्णपुर लगायतका क्षेत्रमा सखिया नृत्य प्रारम्भ गरिएको छ। थारु समुदायले कृष्ण जन्माष्टमीका दिनदेखि सखिया नृत्यको शुरुवात गरेर दशैंसम्म यस नृत्यलाई निरन्तरता दिने गर्दछन्। आज-भोलि गाउँ अनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी सखिया नृत्यको आयोजना गर्ने गरिन्छ।

    थारु गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजना गर्नका लागि छलफल गरे पछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाउने गरिन्छ। गुरुवा (झांक्री) ले तान्त्रिक विधिद्बारा नृत्यमा सहभागिता जनाउने युवा युवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउनका लागि पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको शुक्लाफाँटा नगरपालिका ३ जोनापुर गाउँका वडघर रामप्रसाद चौधरीले बताए।

    सखिया नृत्यमा भगवान कृष्णको जन्मलीलादेखि मृत्यु सम्मको वर्णन गरिएको हुन्छ। नृत्यमा चार जना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ। नृत्यकाबीच बीचमा गीतलाई फरक-फरक भाका हालेर गाउने गरिन्छ।

    मादल बजाउने कार्यको अगुवाई गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ।अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको बडघर चौधरीले बताए। नृत्यमा गीत गाउने महिलाको अगुवाई गर्ने लाई 'मोह्रिन्या' भन्ने गरिन्छ।  मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ।

    नृत्यमा मादलको ताल सँगै विभिन्न मुन्द्रामा युवतीले सामुहिक रुपमा नृत्य पस्कने गर्दछन्। जसलाई थारु भाषामा खोट (पैंया) भन्ने गरिएको छ। पैंया २२ प्रकारको हुने गरेको भए पनि हाल मदारीहरूले आफैं सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुने गरेको थारु अगुवा कालिप्रसाद चौधरीले बताए। यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतला सँगै शरीरलाई मोडेर विभिन्न मुन्द्रामा पेश गर्नु पर्ने हुन्छ।


    यस पौराणिक मनमोहित गर्ने नृत्यलाई हेर्नेको समेत थारु गाउँहरूमा निकै भीड लाग्ने गरेको छ। सप्तमीका दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रातभरि आयोजना गरिन्छ। अष्टमीको रातभरि आयोजना गरिने नृत्यलाई भेडुवा जगैना भन्ने गरिएको उल्लेख गरे। परदेशी चौधरीले भने, ‘यस दिन थारु समुदायले कुभिण्डोको भेडा बनाई बली दिने परम्परागत चलन समेत रहेको छ।’

    पञ्चमीको दिन अघि सादा पोशाकमा यस नृत्यलाई पस्किन भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीहरूले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीले रंगिविरंगी ऐना जडान गरेका लेहंगा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन्। हातमा मैजरी लिएर मादलको ताल सँगै महिलाले बजाउने समेत गर्दछन्।

    अष्टमीको दिन पछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई दिउँसो नाच्ने गरिन्छ। दशैँपछि गाउँमा नृत्यमा सहभागी सबैजनालाई सहभागी गराई भोज खाने चलन रहेको सञ्चारकर्मी धनबहादुर कुश्मीले बताए। जसलाई थारु भाषामा ख्यारा खाने चलन भन्ने गरिएको उनले बताए।


    यो नृत्य सामुहिक रुपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामुहिक भावनाको विकास गराउने र गाउँका बासिन्दा बीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउनमा मद्दत पुर्‍याउछ। 

    धार्मिक मान्यता अनुरुप यो नृत्यको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधी हटने र वर्षभरिका लागि अन्न खान पुग्ने विश्वास थारु समुदायमा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]