विचार

दशैं : अनुभूति र असहमतिका दृष्टि
SHARES

असोज १७, २०७६

    मलाई याद छ। म सानो छँदा, दशैं लागेपछि, मेरो जिल्ला इलामको गाउँका सुब्बाहरूको घरमा बेलुकी सबै बुढापाकाहरू भेला हुन्थे। स्वर तानेर मालश्री गाउथे। त्यो क्रम सुब्बाको घरमा गाउँ भरिका नगरा भेला गरेर बजाउँदै नवमीको दिन मौलो वा मार काटिएपछि सकिन्थ्यो।

    मार काट्ने सुब्बाको घरमा राँगा, बोका, कुबिन्डो आदि काटेर भोज खाइन्थ्यो। सुब्बाकोमा मार काटिसकेपछि गाउँमा अरू जिम्मावाल र कार्वारीहरूका घरघरमा नगरा बजाउदै बोका र कुबिन्डो काट्दै घुम्दा दिन बित्थ्यो। मालश्री के हो? मार किन काटिन्थ्यो? नगरा किन बजाइन्थ्यो? केही थाहा थिएन। तर, केटाकेटी हुनाले दिउँसो भरी घुमिन्थ्यो। पछि बुझियो, त्यो त शोषण र शासनको लागि शासकहरूद्वारा लादिएको सांस्कृतिक आधिपत्य रहेछ। 

    २०४६ सालको चैत्रमा रहेछ, स्कुलमा मानिसहरू भेला भए, 'कस्को जीत, जनताको' भन्दै नारा जुलुस लगाए। यो दिन पञ्चायतको अन्त्य अनि बहुदली प्रजातन्त्रको पुनःस्थापना भएको दिन रहेछ। त्यस दिन यता स्कुलमा आमसभाहरू भइरहन्थे।

    नेपाली कांग्रेस, नेकपा माले, एमएनओ, जनजाति आदिका सभाहरू हुँदै गए। गाउँका केही अगुवाहरू पार्टीको सदस्यता लिनुपर्छ भन्दै हिंड्थे। विभिन्न पर्चाहरू आउन थाल्यो। त्यसमा दशै बहिष्कारको पर्चा र भावनाले मेरो गाउँमा निकै स्थान पायो।

    पुरै गाउँलेहरूले एकाएक दशैमा घर रङ्रोगन गर्न छाडे, जमरा राख्न र टीका लगाउन छाडे। सुब्बाको घरमा मालश्री पढ्न र गाउन भेला हुन बन्द भयो। नगराहरू बजाउन छाडियो र मौलोका खम्बाहरू धमिराले खाए र ढले। अहिले मेरो गाउँमा मौलोको अवसेसहरू छैनन्। यो एउटा इतिहासको अन्त्य थियो। जुन रणबहादुर शाहले लिम्बूहरूलाई दशैं अनिवार्य मान्न दिएको उर्दी र नमानेमा कार्वही गर्ने कानुनी प्रावधानपछि थोपरिएको इतिहासको भंग थियो।  

    मेरो गाउँको यो पूरै परिवर्तनको कारण दशैंको नाममा सांस्कृतिक आधिपत्यले जबरजस्त स्थापीत गरेर राखेको जञ्जीरबाट मुक्तिको अभिव्यक्ति रहेछ। जुन कुराको सांकेतिक अर्थ मैले पछि बुझेको थिए। यो राजनीतिक उन्मुक्तिको चेत रहेछ। जुन चेतना राजनीतिक दल र आदिवासी संस्थाहरूबाट देशका स्थानीय नागरिकको घरदैलोमा आइपुग्दा त्यो परिवर्तन आएको रहेछ।

    यो एउटा शासक जातिको सत्ताको प्रयोगमार्फत भएको सांस्कृतिक अतिक्रमणविरुद्ध भएको विद्रोह रहेछ। यो नेपाली राजनीतिक र सामाजिक आन्दोलनमा शासकहरूको दशैंको नाममा भएको राजनीति र सांस्कृतिक आधिपत्यको विरोध, बहस र बहिस्कारको रूप रहेछ। मैले थाहा पाउँदा पाउँदै उल्लासबाट उदासमा बदलिएको दशैंको माहोलको त्यो शृंखला अहिले पनि समाजमा निरन्तर उदायम नै कायम छ।      

    सांस्कृतिक आधिपत्य के हो?

    मानव-शास्त्रिहरूका अनुसार विश्व राजनीतिमा आधिपत्यको सबैभन्दा उग्र रूपको प्रयोग २०औँ सताब्दीमा भयो। इटालिन सिद्धान्तकार एवं कम्युनिष्ट नेता ग्राम्सीका अनुसार शासकहरूले मूल रूपमा बैचारी र सांस्कृतिक आधिपत्यको अभ्यास मार्फत शक्तिको चरम उपभोग गर्छन्।

    वैचारिक र सांस्कृतिक आधिपत्य यति बलियो हुन्छ कि यसले सबै झुटहरूलाई सत्यको भ्रममा बदल्छ र त्यही भ्रमको आजीवन पूजा गरिरहन नागरिकलाई तयार गराईरन्छ। त्यसैले शासकहरूले कुनै न कुनै रूपमा वैचारिक र सांस्कृतिक आधिपत्यको कुशल अभ्यास गरिरहेका हुन्छन्।

    नेपालका शासकहरूमा पनि आफू सर्वश्रेष्ठ स्थानमा रहन सांस्कृतिक आधिपत्यको प्रयोग यहि रूपमा भयो र अहिले पनि कायम छ। जसको संस्थागत विकास विस १८२५ यताको आधुनिक नेपालको प्रारम्भिक इतिहासबाटै सशक्त रूपमा भयो।

    विशेष गरेर नेपालका शासक वर्ग र जातिले दशैंलाई विभिन्न बहाना, स्वरुप र बखानमा सांस्कृतिक आधिपत्यको सबै भन्दा उत्तम अस्त्रको रूपमा विकास गराए। जसको निरन्तरता वर्तमान कम्युष्टि सरकारले समेत निर्लज्ज दिईरहेको छ।  

    नेपालमा सांस्कृतिक आधिपत्यको निरन्तरता

    वर्तमान नेपाल धर्म निरपेक्ष मुलुक हो। तर पनि, अहिले दशैं जताततै लगाइएको छ। एउटा सांस्कृतिक आधिपत्यको निरन्तरताका लागि। दशैं के हो? कस्को पर्व हो? सबैलाई थाहा छ। जे होस, दशैं देश चलाउने सरकारद्वारा लगाइएको छ। 

    देशभरका शैक्षिक संस्थाहरू आधा महिनाको लागि गत असोज १० गतेबाट बिदा  भएका छन्। पढाउने शिक्षक र पढ्ने विद्यार्थीको मानसपटलमा दुर्गा माता र विजया दशमीको धुँवादार रङ्गमञ्च विच्छ्याइएको छ।

    देशभरका शैक्षिक संस्थाहरू आधा महिनाको लागि गत असोज १० गतेबाट बिदा  भएका छन्। पढाउने शिक्षक र पढ्ने विद्यार्थीको मानसपटलमा दुर्गा माता र विजया दशमीको धुँवादार रङ्गमञ्च विच्छ्याइएको छ। शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, सांसद, स्थानीय जनप्रतिनिधि अदि सबैलाई दशैं खर्चको लागि एक महिनाको थप तलब सरकारी र अर्धसरकारी निकायहरूले बैंक खातामा जम्मा गरि दिएका छन्। दशै दमदार होस भनेर। 

    देशका सत्तापक्षिय दल नेकपा र प्रमुख विपक्षी दल नेपाली कांग्रेस दशैं शुभकामना र चियापानको कार्यसूची बाँडीरहेका छन्। सञ्चार माध्यमहरूले मालश्रीको एकोहोरो धुन बजाउँदै दशैं शुभकामनाको विज्ञापनले कार्यक्रमको आधा भाग ढकाएर प्रचार गरिरहेका छन्। अझ दुर्गा, महाकाली, महालक्ष्मी, गणेष जस्ता हिन्दू विश्वासका देवी देवताका गुणगानका प्रस्तुती, नाटक, बहस र गीतसंगीतले रेडीयो र टीभिका पर्दाहरू रंगीचङ्गी छन्।

    ब्यापारी र विदेशी कम्पनीहरूले हरेक सामानमा दशैं सुविधाको घोषणा गरेका छन्। समाजका केही अगुवाहरू यो दशैं सबै नेपालीको राष्ट्रिय पर्व हो, भेटघाटको पर्व हो, मिठो खाने राम्रो लाउने पर्व हो, आशिर्वाद लिने पर्व हो, हिन्दुको मात्र होइन, सम्पूर्णको शक्ति पूजाको पर्व हो भनि भ्रमको लेख लेख्न, भाषण गर्न र गैर हिन्दू समाजका मनुस्यहरूको दिमाग भुटेर दशैंप्रति समर्पित हुन तयार गराउन ब्यस्त छन्।

    माहोल यस्तो बनाईदै छ, मानौ, अरू कुनै बेला मिठै खाइन्न, नयाँ लुगै पाइन्न, आफन्तसँग भेटघाटै हुन्न जस्तो। यी सबै कार्यको लागि दशैं आउनै पर्छ जस्तो।  

    यो पुरै असोज महिना देशको सारा शक्ति यसैमा केन्द्रीत छ। यसको निरन्तरताको इतिहास शाहकाल, राणाकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल र गणतन्त्रकाल सबै जोड्दा लग्भग ३०० बर्षदेखि रहिआएको छ। यो सबै प्रयासले नेपालका केवल सत्ताशीन जात, वर्ग र लिङ्गका सिमित ब्यक्तिलाई मात्र खुसि प्रदान गरेको छ। बाँकी सबै गैर हिन्दू धर्म र सँस्कृतिका नेपाली र हिन्दू भित्रकै पनि मधेशका छठ, कर्णाली पारीका बिसु प्रमुख पर्व मान्ने र सत्ता बाहिरका गरिबहरूमा अस्वैछिक रूपमा लदाईने सांस्कृतिक उपनिवेशको असन्तुष्टि मात्र जगाईरहेको छ।

    वर्गीय हिसावले यहाँ पूँजीपतिहको ब्यापार र मुननाफा बडेको छ तर गरिबहरूले महिनौ कमाएको रकम एक दुई छाकमा उडीरहेको छ। सांस्कृतिक आधिपत्यको एउटा सार र परिणामको उपयुक्त उदहरण यहि हो। अहिले नेपालमा, यहि त अभ्यास भईरहेको छ।                

    नेपालमा जहानिय राणा शासन ढल्यो, निरंकुश पञ्चायत ढल्यो, हिन्दु राजतन्त्र ढल्यो र धर्म निरपेक्ष गणतन्त्र आयो अफसोच पहाडी हिन्दू पुरुष उच्च जातका सत्तासिन बर्गको चाहना अनुरुपको साँस्कृत आधिपत्यको दबदबा जिवित नै छ।

    त्यसैले त यो दशैंको दशामीको दिन फेरी राष्ट्रपतिकामा प्रधान्मन्त्री, मन्त्री, दलका नेता, सरकारी कर्मचारीहरू दशैंको टीका लगाउन लाम लाग्दै एउटा नाटक देखाऊदै छन्। फेरी पनि उनै नेपालीहरूलाई भुलभुलैयामा पार्न। दशैं महान हो। यो महान दशैंमा राष्ट्रका महान राष्ट्रपतिबाट अशिर्वाद लिनुपर्छ भन्ने भ्रमको कथा बनाउन। नवमीका दिन देश र जनताका सुरक्षा निकायहरू नेपाली सेना, शसस्त्र र प्रहरी कार्यालयका प्राङ्गणहरूमा दुर्गा पूजा हुँदैछ। यी सबै कार्यले एउटा धर्ममा आधारीत सँस्कृति र चाडलाई एक विशेष राष्ट्रिय मान्यता दिन भईरहेको प्रष्ट छ। यी ब्यापक कार्य गर्न पुरै देशको संयन्त्रलाई निश्चित रूपमा फुर्सद मिल्नेछ। 

    यो बेला नेपालमा धार्मिक र सांस्कृतिक समानता र आत्मसम्मानको महनुस हुनेछ। यसको लागि राष्ट्रसेवकहरूलाई अतिरिक्त अर्थिक सुविधा दिँदा पहाडी हिन्दूलाई दशैमा, किरातलाई किरात चाडमा, मुस्लिमलाई इदमा, बौद्धिष्टलाई ल्होसारमा, इसाईलाई क्रिसमसमा, थारूलाई माघीमा, मधेशी हिन्दूलाई छठमा दिए वैज्ञानिक र अर्थपूर्ण हुन्छ। यसो गरे राज्यलाई केही घाटा हुँदैन।

    तर यो देशमै मनाईने किरात पर्व (चासोक, साकेला, फूलस्यादर, चासुवा), माघि, इद, ल्होसार, क्रिसमस आदिमा राष्ट्र प्रमुख र सरकार प्रमुखलाई शुभकामना दिनेसम्म फुर्सद निकाल्न धाउधाउ छ। दुईतिहाईको कम्युनिष्ट सरकारको आगमन पछि किरात, बौद्ध, मुस्लिम, इसाई अदि धार्मीक तथा सांस्कृतिक पर्वका लागि कायम रहेको एक एक दिनको विदाहरू समेत कटौटी गरेर बहु–धार्मिक र बहु–सांस्कृतिक अस्तित्व विपरित सरकार रहेको सन्देश दिंदै एउटै हिन्दू धर्म र सँस्कृतिको मात्र दशैं, छठ, तीज, शीवरात्री, जर्नैपूर्णीमा, होली आदि भण्डै एक महिनाको सार्वजनिक विदा दिएर एक धार्मिक र सांस्कृतिक पक्षको मात्र संरक्षक भएको प्रमाणीत गरिरहेको छ। यस्तो एकलकाँटे सरकारी नीतिको किन विरोध नगर्ने?   

    नेपालका विभिन्न धार्मिक समुहहरूको सांस्कृतिक धरोहर र पर्वहरू स्वभाविक रूपमा फरक–फरक छन्। यो कुरा शासकहरूलाई राम्ररी थाहा छ। तै पनि, राज्य पक्षले सबै विभिदतालाई जबरजस्त एकै डालोमा गुटुमुटु पारेर सबै नेपालीहरूको एक मात्र महान पर्व दशै भनिरहेको छ। यो हुनै सक्दैन। दशैं हिन्दु मानवहरूको पर्व हो। यसलाई नेपालमा हिन्दु नेपालीहरूको राष्ट्रिय चाड भने भईहाल्यो नि। किन गैर हिन्दु सबैलाई जोडी राख्नु पर्यो र? जसले मनाउछ उसको पर्व हुन्छ।

    उसको पर्वलाई राज्यले सम्मान गर्दा सन्तुष्टि प्राप्त हुन्छ गौरबको अनुभुति हुन्छ। जसको पर्व नै होइन जबरजस्त उसको पर्व हो भनि राज्यले थोपार्दा उल्टै उत्पिडन, पीडा र अपमानको बोध हुन्छ। दशैं सबै नेपालीको राष्ट्रिय पर्व भन्दै देशका नेता र निकाय कुर्लिंदा देशको गैर हिन्दु मानवहरू यहि अपमानको बोध गरिरहेका छन्। यो गम्भिर विषय हो। यसलाई नेपालका नेता, नीति निर्माता र अगुवाहरूले मान्नै पर्छ।

    दशैं हिन्दूहरूको एक प्रमुख चाड हो। दशैंमा पुजिने नौ देवीहरूको अर्थ र सम्मान साँचो अर्थमा हिन्दूहरूले मात्र भित्रि हृदयदेखि महसुस, अनुभूत र प्रकट गर्न सक्छन्। नेपालमा दशैंले यहि अर्थमा बाँच्न पाउनु पर्छ। तब मात्र दशैंको वास्तविक अर्थ र सम्मान हुन्छ। थेबा र युमा साम्माङ् पूजा गर्ने लिम्बू, भूमे पूजा गर्ने धिमाल, ल्होसार मान्ने गुरुङ, तोरन–लमा मान्ने थकाली आदिले दुर्गा, महाकाली र महालक्ष्मिको बैचारीक अर्थ मान्दा पनि मान्दैनन्, उनीहरूको स्तुती गाना जान्दा पनि जान्दैनन्। ती देवीहरूको उचीत थानमान दिन पनि जान्दैनन्।

    जान्न आवस्यक पनि ठान्दैनन्। धार्मिक र सांस्कृतिक विश्वाश अनुसार देविदेवताहरूले उचित थानमान पाएनन् भने विथोल मात्र हुन्छ। त्यसैले दशैंको नाममा नौ देविहरूलाई स्थानै नभएको गैर हिन्दू धर्म र संस्कृतिमा जबरजस्त विस्तार गरेर बिथोल नगरौ। यसो भएमा नै नौ दुर्गाभवानीहरूले नेपाली राष्ट्रियतालाई बलियो बनाउन अशिर्वाद दिनेछन्। बाँकि धर्म र सांस्कृतिका अनुयायीहरूलाई उनीहरूको आफ्नै धार्मिक र सांस्कृतिक पर्वका दिनहरूमा रमाउने र भक्ति गर्ने वातावरण राज्यबाट निर्माण गरौं।

    यो बेला नेपालमा धार्मिक र सांस्कृतिक समानता र आत्मसम्मानको महनुस हुनेछ। यसको लागि राष्ट्रसेवकहरूलाई अतिरिक्त अर्थिक सुविधा दिँदा पहाडी हिन्दूलाई दशैमा, किरातलाई किरात चाडमा, मुस्लिमलाई इदमा, बौद्धिष्टलाई ल्होसारमा, इसाईलाई क्रिसमसमा, थारूलाई माघीमा, मधेशी हिन्दूलाई छठमा दिए वैज्ञानिक र अर्थपूर्ण हुन्छ। यसो गरे राज्यलाई केही घाटा हुँदैन।

    दशैंमा नै थोपर्नुको के खाँचो? दशैमा एकल रूपमा दिने १५ दिनको लामो शैक्षिक विदालाई सबै सांस्कृतिक चाडहरूमा मिलाएर दिए भइहाल्यो नि। यसो नगर्ने र उही पुरानै ढर्रामा सांस्कृतिक आधिपत्य विस्तारको रणनीतिक कार्यको लागि दशैंलाई नै सबै नेपालीमा जबरजस्त महान चाड भन्दै भिराउने कामको अझैनिरन्तरता भइरहेमा फेरी पनि नेपाली जमात भित्रकै गैर हिन्दूको लागि दमन, गरिबको लागि शोषण र देशको लागि विवादको चाड मात्र हुनेछ दशैं।  

प्रेम येक्तेन

येक्तेन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा, राजनीतिशास्त्रका उपप्राध्यापक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]