फिचर

शहर नरोजेका र जागिर नखोजेका बाबुछोरा : महबाटै कमाउँछन् १० लाख

कात्तिक १७, २०७६

    पर्वत : पर्वतको बिहादी गाउँपालिका-२ बर्राचौरस्थित साहुथरका सोमनाथ पौडेल र उनका छोरा विष्णुको दैनिकी हेर्दा सायद कमैको मात्र मन लोभिँदैन होला। ५५ वर्षीय सोमनाथ र २४ वर्षीय विष्णुले व्यवसायिक रूपमा गरिरहेको मौरीपालन सबै खालका कृषकहरूको लागि जिल्लाकै आकर्षणको केन्द्र बनेको छ। उनीहरूले जागिरभन्दा व्यवसाय नै उत्तम ठानेर व्यावसायिक कृषिलाई नै अगाडि बढाउने निधो गरे।

    सोमनाथका ३ वटा घर र बारीका २ वटा पाटाहरू मौरीका आधुनिक घारहरूले भरिएका छन्। ‘साइँला मौरी फर्म’ नाम राखेर चलाइएको फर्ममा अहिले १ सय १८ वटा आधुनिक र १० वटा परम्परागत मुढे घार रहेका छन्।

    मौरीपालन गर्न छोरालाई जेटिए

    सोमनाथले २०३३ सालबाट मौरीपालन सुरु गरेको भए पनि फर्मको बृहद विस्तार भने २०६९ सालमा गरेको बताए। उनले मौरीपालन व्यवसायलाई कहिल्यै नछोड्ने अठोट गर्दै फर्मको विस्तार गर्दै लगे।

    यही कारण उनले आफ्‍नो छोरालाई अरू जागिरको खोजीमा लाग्नुभन्दा मौरीपालक कृषक बन्न नै प्रेरणा दिइरहे। घरमा पालिएका मौरीहरूको रेखदेख गर्दै मौरीपालनमा आउने समस्याको समाधान गर्न विष्णुले कृषि प्राविधिकअन्तर्गत जेटिए अध्ययन गरे।

    ‘मौरीले मेरो घर धानेको हो। जागिर पेसा अरू केही नभएको बेलामा सुरु गरेको मौरीपालनले यहाँसम्म ल्याएको छ।’ सोमनाथले भने, ‘यही कारण छोराले पनि जागिरभन्दा यही मौरीपालन गर्दा राम्रो होला भनेर उसलाई जेटिए पढ्न लगाएको हुँ।’

    विष्णु जेटिए बेनपछि फर्मको विस्तारमा झनै सजिलो हुँदा २०६९ सालबाट ‘साइँला मौरी फर्म’ जिल्लाकै राम्रो मौरी फर्मको रूपमा स्थापित भयो। ‘बुबाले पाल्दै आएका मौरीले हाम्रो जीविका राम्रो बनाएपछि मैले पनि बुबाकै सल्लाहअनुसार जेटिए पढेँ।’ विष्णु भन्छन्, ‘मौरीपालनमा हामीलाई कुनै समस्या छैन। लामो समय पाल्दाको अनुभव र मेरो अध्ययनले मौरीपालनका समस्याहरूको समाधान हुँदै आएको छ।’

    वर्षमै १० क्विन्टल मह उत्पादन

    ‘साइँला मौरी फर्म’ मा यो वर्ष कम्तीमा पनि १० क्विन्टल अर्थात १ हजार किलो मह उत्पादन हुँदै छ। पोहोरसम्म बढीमा ६ क्विन्टल वार्षिक उत्पादन रहेकोमा यस वर्ष मौरीका घारका सङ्ख्या बढाएकोले १० क्विन्टलभन्दा बढी मह उत्पादन हुने अनुमान गरेको विष्णुले बताए।

    ‘गत वर्षसम्म वार्षिक रूपमा बढीमा ६ क्विन्टलसम्म उत्पादन हुने गरेको थियो।’ उनले भने, ‘यो वर्ष घारका सङ्ख्या थपिएका कारण १० क्विन्टल त थोरैमा पनि उत्पादन हुनेछ।’

    उत्पादित मह धेरैजसो विदेशमा निर्यात हुने गरेको बाबुछोरा बताउँछन्। विदेशमा बस्ने नेपालीहरूले फेसबुकमा फर्मका बारेमा राखिएको जानकारी र साथीहरूका माध्यमबाट थाहा पाएर ‘अर्डर’ गर्ने गरेका छन्। विदेशपछि सबैभन्दा बढी बुटवलतर्फको क्षेत्रमा निर्यात हुने गरेको छ। स्थानीय बजारका रूपमा सदरमुकाम कुस्मा बजारसहित काठमाडौँ र पोखरामा पनि महको माग राम्रो रहेको विष्णु बताउँछन्।

    वार्षिक २० लाखको कारोबार

    गाउँमै बस्ने मान्यता राखेर सहर नरोजेका, जागिर नखोजेका र वैदेशिक रोजगारीमा मनै नलगाएका बाबुछोराले जन्मिएकै गाउँमा बसेर वार्षिक २० लाखभन्दा बढीको कारोबार गर्दै आएका छन्।

    उनीहरूले प्रतिकिलो मह ११ सय रुपैयाँका दरमा बेच्दै आएका छन्। जहाँबाट महको माग गर्दै फोन आउँछ, त्यहाँ सवारीमार्फत मह पठाउने गरिएको छ। थोरै मह माग गर्नेहरूलाई सवारीमा पठाए पनि ५० किलोभन्दा बढी माग गरेमा आफैँ पुर्‍याउन जाने गरेको विष्णुले बताए।

    मह मात्रै बेच्दा झन्डै १० लाख रुपैयाँ आम्दानी गर्ने बाबुछोराले मौरीका घार बिक्रीबाट पनि वार्षिक झन्डै १० लाख रुपैयाँ नै आम्दानी गर्ने गरेका छन्। मौरीविहीन आधुनिक घारलाई मात्र ३ हजार रुपैयाँ र मौरीसहित १० हजार रुपैयाँमा बिक्री गर्ने गरेको उनीहरू बताउँछन्।

    ‘बिहान ५ बजे उठेपछि बेलुका रातिसम्म पनि परिवारका सदस्यहरूले यसमा मिहिनेत गर्ने गरेका छौँ। त्यति सजिलो त यसमा पनि कहाँ छ र?’ सोमनाथ भन्छन्, ‘मौरीसहितका घारहरू पनि बिक्री गर्दा राम्रै भएको छ। तर घार सजिलै बिक्री भएका छैनन्। मह बेच्न समस्या छैन।’

    रहरमा होइन व्यवसायिकतामा विश्वास गरौँ

    व्यवसायिक कृषक बन्नकै लागि कृषि प्राविधिक बनेका विष्णुले कसैले पनि कृषि कर्मबाट जीविकोपार्जन गर्न चाहन्छ भने उसले रहरमा नभई व्यावसायिक मान्यतामा रहेर उत्पादन गर्नुपर्ने बताउँछन्। काम चलाउ रूपमा गरिएको कृषि कर्मबाट लगानी पनि उठ्न कठिन हुने भएकोले केही बढी मिहिनेत र लगानी गरेरै भए पनि व्यावसायिक कृषक बन्न सक्नुपर्ने उनको भनाइ छ।

    मौरीपालनमा पनि यस्तै समस्या रहेकोले महभन्दा घार बेच्नमा समस्या भइरहेको उनको भोगाइ छ। ‘यसो २/४ वटा घार राखेर हेरौँ न भनेर मौरी पाल्नेहरू हुनुहुन्छ, त्यसले उहाँहरूलाई फाइदा दिन्छ नै भन्न सकिँदैन।’ विष्णु भन्छन्, ‘वर्षा याम र जाडोको समयमा २/४ घार मौरी त भागेरै जान्छन्, अनि कृषकहरूले मलाई मौरीले दिएन अब पाल्दिनँ भन्नुहुन्छ।’

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]