विचार

बैंकिङ व्यवसाय : जान्दा मस्ती, नजान्दा सास्ती !
SHARES

कात्तिक १८, २०७६

    नेपालमा अहिले २८ वटा वाणिज्य बैंक, २८ वटा विकास बैंक, २२ वटा वित्त कम्पनी र ८९ वटा लघुवित्त वित्तीय संस्थालगायत मर्चेन्ट बैंक, कर्मचारी सञ्‍चय कोष, नागरिक लगानी कोष र २८ बिमा कम्पनीहरूका साथै वित्तीय कारोबार गर्ने कम्पनीहरू सञ्‍चालनमा रहेका छन्। बैंकिङ व्यवसाय वि.सं.१९९४ बाट सुरु भए पनि वि.सं.२०६३ देखि आधुनिक बैंकिङ प्रणालीको विकास भएको मानिन्छ। बैंकिङ व्यवसाय अहिले पेसा बनिसकेकोले नेपालमा बैंकिङ क्षेत्रको भूमिका र महत्व बढ्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन्।

    यसै परिप्रेक्षमा वित्तीय पहुँचका विविध सूचकहरूको अध्ययनले बैंक तथा वित्तीय संस्थाहरूमा एक व्यक्तिको एकभन्दा बढी रहेका खाताहरूलाई हटाएर एक व्यक्ति एक खाताको अवस्था हेर्दा करिब १ करोड ८० लाख निक्षेप खाता संख्या भएको देखिन्छ। यो संख्या नेपालकोे कुल जनसंख्याको ६०.९ प्रतिशत हुन आउँछ। तसर्थ नेपालमा कम्तीमा ६०.९ प्रतिशत जनसंख्यामा बैंकिङ पहुँच पुगेको देखिन्छ। यसमा लघुवित्त वित्तीय संस्था र बचत तथा ऋण सहकारीबाट सेवा प्राप्त गर्ने जनसंख्यालाई समावेश गर्ने हो भने यो हिस्सा अझै बढ्दछ।

    यसरी अध्ययन गर्दा नेपालमा बैंकिङ व्यवसाय निक्षेप संकलन र कर्जा प्रवाह गर्ने जस्ता परम्परागत सेवामा मात्र सीमित नभई बैंकिङ पहुँच वृद्धि गर्ने चलायमान र गतिशील व्यवसाय बन्दै २४ सै घण्टा सेवा प्रदान गर्दै अन्तर्राष्ट्रियस्तरसम्म जोडिन पुगेको छ।

    बैंकिङ प्रणालीमा आबद्ध कर्मचारी तथा लगानीकर्ताले यो पेसा तथा व्यवसाय जान्दा आनन्द वा मस्ती र नजान्दा झण्झट वा सास्तीको पेसा तथा व्यवसाय बनेको छ। बैंकिङ पेसा तथा व्यवसाय अर्थतन्त्रका लागि आर्थिक क्रियाकलाप बढाउने एक प्रमुख औजार भएकोले बैंकिङ क्षेत्रको विकास नै अर्थतन्त्रको आधार भएको छ।

    बैंकिङ प्रणालीको सेवाबाट मानिसका माग, चाहना र आवश्यकताहरू पूरा गराउने महत्वपूर्ण वित्तीय विषय भएकोले यस क्षेत्रबाट समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउन र यसक्षेत्रको प्रभावबाट अर्थतन्त्रलाई नै समस्यामा पार्न सक्ने प्रमाणित भइसकेको छ। बैंकिङ व्यवसायमा प्रविधिगत, प्रक्रियागत, प्रणालीगत, क्षेत्रगत, नीतिगत, राजनीतिक, सामाजिक तथा सांस्कृतिक चुनौतीहरू प्रशस्त रहे पनि यसक्षेत्रले पुर्‍याएको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन।

    बैंकिङ प्रणालीलाई आन्तरिक तथा बाह्य (स्वदेशी तथा वैदेशीक) पक्षबाट आक्रमण हुँदा बैंकिङ बजारले सूचना, निक्षेप, प्रणाली, सफ्टवेयर, तथ्यांक आदिको संरक्षण गरी अनुगमन र निगरानी गर्दै सचेत रहनु आजको आवश्यकता हो।

    बैंकिङ बजारका ग्राहकको हित तथा सुरक्षा गर्न, सेवा तथा शुल्कलाई पारदर्शी बनाउन, ग्राहकमैत्री बैंकिङ प्रणालीको विकास गर्न, सर्वसाधारणमा बैंकिङ पहुँच विस्तार गर्न, वित्तीय उपकरणको प्रयोगलाई प्रभावकारी बनाउन र विश्वासनियता कायम राख्न सक्नुपर्दछ। ग्राहक तथा सरोकारपक्षलाई आधुनिक र सुविधा सम्पन्न बैंकिङ सेवा प्रदान गर्ने सन्दर्भमा वित्तीय कारोबारमा विभिन्न प्रकारका सञ्चालन जोखिमहरू क्षेत्र, स्थान, बजार र बैंकपिच्छे फरकफरक देखिएकोले यसप्रकारका जोखिमको पहिचान, मापन, न्यूनीकरण र व्यवस्थापन गर्ने प्रणालीको आवश्यकता छ।

    बैंकिङ व्यवसायले गत आर्थिक वर्षमा झण्डै ३३ खर्ब ६० अर्ब बराबर निक्षेप र २९ खर्ब १५ अर्बको हाराहारीमा कर्जा प्रवाह गरेको छ। त्यसैगरी, झण्डै ४० अर्ब बराबर कर्मचारी खर्च, ७४ अर्ब नाफा, ३० अर्ब कार्यालय सञ्‍चालन खर्च, ९ अर्ब बोनस र ३१ अर्ब बराबर करको लागि व्यवस्था गरेको छ। त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तार तीव्ररूपमा भइरहेको सन्दर्भमा ७५३ स्थानीय तहहरूमध्ये ७३९ तहहरूमा वाणिज्य बैंकहरूको शाखा पुगिसकेको छ।

    बैंक शाखा जनसंख्या उल्लेख्य रूपले घट्दै गएकोे छ भने कुल जनसंख्याको हाराहारीमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप खाता संख्या पुग्न लागेको केन्द्रीय बैंकको रिपोर्टले पनि देखाउँछ। नेपालमा सूचना प्रविधिको राम्रो प्रयोग तथा उपयोग भएको एक मात्र क्षेत्र बैंकिङ बजार हो। बैंकिङ क्षेत्र प्रतिस्‍पर्धी हुँदा प्रविधिमा आधारित सेवाहरूको प्रवाह बढ्दै आधुनिक र सहज पनि बन्दै गएको छ।

    केन्द्रीय बैंकले समेत भर्चुअल बैंकिङ कारोबारलाई बढाउन बैंकिङ सेवालाई छिटोछरितो, हरेक स्थानमा बैंकिङ पहुँच, नोटमा हुने फोहोरको समस्याबाट छुटकारा आदिको लागि नगदमा आधारित कारोबारलाई घटाउँदै लैजाने रणनीति लिएको छ।

    जसअनुसार बैंकिङ क्षेत्रले आफ्‍नो व्यवसायमा नयाँनयाँ प्रणाली भित्र्याइ सेवा तथा सुविधामा विविधता ल्याउँदै जाने रणनीति लिएको देखिन्छ। आधुनिक सेवा तथा सुविधाले बैंकिङ व्यवसायलाई आयाम दिए पनि यसक्षेत्रका व्यवस्थापकहरू आफ्नो पेसाप्रति निकै सजग रहन जरुरी छ।

    बैंकिङ कसुरअन्तरगत अनाधिकृतरूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने, अनाधिकृतरूपमा चेक, चेकबुक वा बैंक विवरण प्राप्त गर्न वा दिन नहुने, अनाधिकृतरूपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने, विद्युतीय माध्यमको दुरुपयोग वा अनाधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने, अनाधिकृतरूपमा कर्जा लिन वा दिन नहुने।

    कर्जाको दुरुपयोग गर्न नहुने,बैंकिङ स्रोत, साधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने, भाखा नाघेको ऋणीले सम्पत्ति प्राप्त गर्न वा खाता खोल्न नहुने, अनियमित आर्थिक तथा वित्तीय कारोबार गर्न गराउन नहुने जस्ता बाध्यात्मक व्यवस्था गरेको छ। तसर्थ बैंकिङ व्यवसाय जान्दा मस्ती, नजान्दा सास्तीको पेसा हो भन्ने प्रमाणित छ।

    बैंकिङ संस्थाहरूले आफ्‍नो व्यवसाय प्रवर्द्धनका लागि विभिन्न प्रकारका नाराहरू जस्तोः सबैमा बैंकको सम्बन्ध, एक परिवार एक बैंक, नारीको प्रगति देशको उन्नति, एक व्यक्ति एक बचत खाता, राष्ट्रको समुन्नति हाम्रो बाचा, बैंक एक सेवा अनेक, तपाईं हाम्रो घर आँगनको बैंक आदि प्रयोगमा ल्याएका छन्। 

    बैंक तथा वित्तीय संस्थाको मुटु भनेको प्रयोगमा ल्याएको बैंकिङ सफ्टवेयर हो। अहिले नेपालको बैंकिङ क्षेत्रमा मुख्यरूपमा फिनाकल, टेमनस, आइफेलेक्स जस्ता स्वदेशी तथा विदेशबाट आयात गरिएका सफ्टवेयरहरू प्रयोगमा ल्याई आफ्ना सेवा तथा सुविधाहरू प्रवाह गर्दै आएका छन्।

    पछिल्लो समय विभिन्न स्थानबाट बैंकिङ सफ्टवेयरहरू ह्याक गर्ने, सिस्टममा रहेको पैसा चोर्ने, सूचना लैजाने, डाटा नोक्सानी गराउने जस्ता समस्याहरू बढ्दै गएको सन्दर्भमा नेपाल राष्ट्र बैंकले प्रविधिमा अन्तरनिहित आन्तरिक एवं बाह्य सुरक्षाको जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि सूचना प्रविधि आकस्मिक सहायता समूह गठन गरी साइबर सुरक्षासम्बन्धी घटनामा तत्काल सहायता उपलब्ध गराउन निर्देशन दिएको छ।

    बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो वेबसाइट, आधिकारिक सामाजिक सञ्जाल तथा सूचना प्रविधिमा जस्ता जोखिम, बाह्य जोखिम, आदि माध्यमबाट प्रणालीमा अनाधिकृत पहुँच गरी सूचना चुहावट, चोरी तथा आर्थिक नोक्सानीको जोखिम, आधिकारिक सेवाको पहुँच रोक्ने लगायतका जोखिमबाट हुनसक्ने क्षतिको न्यूनीकरण गर्न आवश्यक रहेकोले आफ्ना औजार तथा यन्त्रहरूलाई सुदृढ गर्दै सेवा प्रवाह गर्दा अवलम्बन गरेका प्रणालीको सत्यता जाँच गर्न निर्देशन पनि दिएको छ। 

    नेपालका बैंक तथा वित्तीय संस्थाहरूको जम्मा योग १६७, कुल चुक्ता पुँजी करिब तीन खर्ब ६ अर्ब, कुल ८,९७० शाखा, करिब ३३१६ एटिएम, ६७ लाख डेबिट कार्ड, १ लाख २३ हजार क्रेडिट कार्ड, ८३ लाख मोबाइल बैंकिङ ९ लाख १८ हजार इन्टरनेट बैंकिङका ग्राहक नेपाली बैंकिङ प्रणालीमा जोडिएका छन्।

    बैंकिङ व्यवसाय सेवा विस्तार शहरी क्षेत्रमा तीव्र भए पनि ग्रामीण क्षेत्रमा लक्ष्यअनुरूप हुन सकेको छैन। बैंकिङ क्षेत्रको विस्तार र विकाससँगै सञ्चालन जोखिम पनि बढ्दै गएको हुँदा यसअन्तर्गत पर्ने प्रविधि, जनशक्ति, प्रक्रिया र प्रणालीसँग सम्बन्धित तत्वहरूको नियमित अनुगमन, सुपरिवेक्षण र निगरानी आवश्यक छ।

    केही समयअघि चिनियाँ ह्याकरहरूले एटिएमबाट रकम झिक्ने क्रममा सूचना अपरेटको लागि चिनियाँ सामाजिक सञ्जाल वी च्याटको समेत प्रयोग गरी एटिएम बुथको लोकेसन, नेटवर्क ह्याक गर्न मिल्ने कोड नम्बर प्राप्त गरी सो कोर्ड हानी एटिएमभित्रको सबै रकम निकाल्ने, ह्याकरहरूले ल्यापटप, मोबाइल, विभिन्न डिभाइसहरूको प्रयोग गरी वी च्याटको प्रयोग गर्ने, वासलात तथा नाफा, नोक्सान खातामा आक्रमण गर्ने जस्ता कार्यबाट प्रतिष्ठाको पेशा तथा व्यवसायमा दिनप्रतिदिन सञ्चालन प्रकृतिका जोखिम बढ्दै गएका छन्।

    तसर्थ सञ्‍चालन जोखिमको पहिचान, मापन, मूल्यांकन, अनुगमन, नियन्त्रण र व्यवस्थापन गरी उच्च प्रविधि तथा प्रणालीको ह्याकिङबाट पर्न सक्ने हाइटेक बैंकिङ फ्रडको बहुआयामिक प्रभावलाई घटाउँदै अन्य मुलुकबाट पनि बैंकिङ ह्याकिङ गरी नेपाली बैंकबाट पैसा निकाल्न सक्ने सम्‍भावनाप्रति सतर्कता हुनु पर्दछ।

    यसरी फिनटेकमा आएको चुनौतीले नेपालका विभिन्न वित्तीय संस्था त्रसित छन् तसर्थ साइबर क्राइम वा सिस्टम ह्याकिङ गर्ने क्रमलाई निरुत्साहित गरी सास्तीबाट मुक्त हुन जरुरी छ।

    बैंकिङ प्रणालीमा प्रविधिको दुरुपयोग गरी, कर्मचारीसँग मिली, आन्तरिक र बाह्य कमी कमजोरीका कारण स्वदेशी वा विदेशी ह्याकरहरूले एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, बैंकिङ कार्ड लगायतबाट बैंकिङ क्षेत्रको प्रविधिलाई ह्याक गरी पैसा निकाल्ने प्रवृत्तिले एटिएमलगायत बैंकिङ कारोबार गर्दा प्रयोगकर्ता वा ग्राहक पनि सावधानी हुनुपर्दछ।

    तसर्थ बैंकिङ व्‍यवसायलाई मर्यादित, कानुनबमोजिम र अन्तर्राष्ट्रिय अभ्यासअनुसार सञ्‍चालन गर्दै अवसर वा मस्तीको पेसा बनाई चुनौती तथा सास्तीलाई सुख वा आनन्दमा परिणत गरी कर्मचारी, व्यवस्थापक, लगानीकर्ताको भूमिका बढाउन आवश्यक छ।

डा. सुरज टण्डन

टण्डन वित्तीय क्षेत्रका विश्लेषक हुन्। उनी कृषि विकास बैंकमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]