राजनीति

मेची पुलमा युवा संघले जलायो भारतीय प्रधानमन्त्रीको तस्वीर र नक्सा

कात्तिक २३, २०७६

    भद्रपुर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतले भर्खरै सार्वजनिक गरेको नयाँ नक्साको पोस्टर झापामा जलाइएको छ।

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल भद्रपुरले सीमावर्ती नाकामा पर्ने भद्रपुर ५ स्थित मेची पुलमा प्रधानमन्त्री मोदी र भारतीय नक्साको पोस्टर जलाइएको हो।

    भारतको नयाँ नक्साभित्र नेपाली भूमि कालापानी, लुपिलेक र लिम्पियाधुरा समावेश गरेको भन्दै देशभरमा विरोध प्रदर्शन भइरहेको अवस्थामा युवा संघले पनि विरोधसभाको आयोजना गरेको नगर अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए।

    भारतको विहार तथा बंगाल सीमासँग जोडिएको भद्रपुरको मेची पुलमा नेकपाका कार्यकर्ताहरूले भारतीय विस्तारवाद मुर्दावाद, भारतीय प्रधानमन्त्री मुर्दावाद, नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक इन्डिया भन्दै करिब आधा घण्टा नाराबाजी गरेका थिए।

    भद्रपुर भन्सार अगाडिबाट निस्किएको विरोध र्याली मेची पुल चढ्ने दशगजा क्षेत्रमा गएर नेकपाका कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्दै कोण सभा गरेका थिए। कोणसभामा बोल्दै नेकपा झापाका जिल्ला सदस्य तथा भद्रपुर इन्चार्ज असारु राजवंशीले भारतीय विस्तारवादले नेपाली भूमि मिचेकोले यसलाई फिर्ता गराउन युवा सडकमा उत्रिएको बताए। भारतीय सरकारले नेपाली भूमि फिर्ता नगरे झापाबाटै आन्दोलन चर्काउने उनले चेतावनी दिए।

    त्यस्तै, नेकपाका जिल्ला सदस्य तथा भद्रपुर सहइञ्चार्ज नरेश सञ्जलले नेपाली भूमिको रक्षा गर्न देशका युवा तयारको बताए। उनले सरकार र सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीले नेपाली भूमि बचाउन नसके युवा नै सीमा रक्षामा उत्रिने बाध्य हुने बताए। कार्यक्रममा नेकपाका दीपक अग्रवाल, निकास पाण्डेलगायतले बोलेका थिए।

    संखुवासभामा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन

    त्यसैगरी, संखुवासभाको सदरमुकाममा खाँदबारीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ। भारतले हालै सार्वजनिक गरेको विवादित नयाँ नक्साको विरोधमा देशैभर प्रदर्शन र विरोध भइरहेको छ।

    शनिबार खाँदबारीका युवाको नेतृत्वमा निकालिएको र्‍यालीले बजारका विभिन्न भू-भागमा परिक्रममा गर्दे चाँदनी चोक आएर भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन गरेका हुन्। युवाले भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद भन्दै नारा लगाउँदै उनीहरूले पुतला दहन गरेका थिए। उनीहरूले मिचेको नेपाली भूमी फिर्ता गर भारतीय दादागिरी अन्त्य गर भन्दै नेपालको भूभाग भारतीय नक्साबाट नहटाइए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। भारतीय हस्तक्षेप र राष्ट्रिय स्वाधिनताका लागि युवा एक जुट हुनसमेत उनीहरूले आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]